धादिङ, २४ मंसिर २०८२ — नेपाल मानव अधिकार संगठन धादिङले बुधबार नीलकण्ठ नगरपालिका–८ ससाहमा आफ्नो चौथो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले अधिवक्ता कृष्णराज अधिकारीको सभापतित्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमसँगै अधिवेशन सम्पन्न गरिएको नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारीले जानकारी दिनुभयो।

निर्वाचित पदाधिकारीहरूः

सभापति: कृष्णराज अधिकारी

उपसभापति: कृष्ण बद्री पौडेल

कोषाध्यक्ष: बालकृष्ण नेपाली

सचिव: ईश्वर थापा मगर

सदस्यहरू: बद्री अधिकारी, पदमराज अधिकारी, शुशिला बी.के., बिनु सिम्खडा, बिमल तामाङ

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा INSEC प्रतिनिधि सिताराम अधिकारीले “गर्भावस्थादेखि मृत्यु पछिसम्म प्राप्त हुने आधारभूत अधिकार नै मानव अधिकार हो, तर आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुन नहुने” विचार व्यक्त गर्नुभयो।

त्यस्तै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले “राज्यले सधैं मानव अधिकारको संरक्षण गर्नुपर्छ र विभिन्न सन्धि–महासन्धिअनुसारका दायित्व पूरा गर्नुपर्छ” भन्दै सरकारले नागरिककाे हकहित सुनिश्चित गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका सचिव सन्तोषराज श्रेष्ठ, दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगराती, रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ, नीलकण्ठ एफएमका बद्री अधिकारीलगायतले मानव अधिकारको संरक्षण, संवर्धन र व्यवहारिक कार्यान्वयनबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा मानव अधिकारका समसामयिक चुनौती, स्थानीय तहको भूमिका तथा समुदायस्तरमा अधिकार संरक्षणका उपायहरूबारे विस्तृत छलफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0