बद्री पौडेल
काठमाडौं , १५ पौष २०८२
श्री बच्छलादेवी माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन काठमाडौं सामाखुशीमा सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयसँग जोडिएका पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्दै शैक्षिक, सामाजिक तथा संस्थागत विकासमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष बम बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा संविधानसभा सदस्य तथा पूर्व राज्य मन्त्री परशुराम तामाङ रहनुभएको थियो । विशेष अतिथिका रूपमा खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको उपस्थिति रहेको थियो ।
त्यसैगरी अन्य अतिथिहरूमा नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक लोप्चन, सत्यदेवी रिजाल समाजका अध्यक्ष गणेश रिजाल, भूतपूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष शिवहरि रिजाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजको आर्थिक तथा संगठनात्मक प्रतिवेदन, आगामी वार्षिक कार्यक्रम प्रस्तुत तथा पारित गर्नुका साथै नयाँ कार्यसमिति चयन गरिएको थियो । अधिवेशनले सर्वसम्मत रूपमा निम्नानुसारको नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति:
- अध्यक्ष: बम बहादुर तामाङ
- उपाध्यक्ष: दिपक लोप्चन तामाङ
- सचिव: कृष्ण ब. पौडेल (बद्री)
- कोषाध्यक्ष: आशिका घले
- सदस्य: हरि तामाङ
- सदस्य: अर्जुन प्रसाद रिजाल
- सदस्य: सङ्गिता पाख्रीन
अधिवेशनको अवसरमा “बच्छला सन्देश” स्मारिका प्रकाशन मा बिग्यापनदाता , आर्थिक सहयोग तथा लेख–रचना प्रदान गर्ने लेखकहरूलाई सम्मान गरिएको थियो । साथै श्री बच्छलादेवी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चित्र बहादुर गुरुङ, पूर्व प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली, तथा गाउँपालिकाका अध्यक्षलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले भूतपूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समाजसेवामा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
- कार्यक्रमको सञ्चालन समाजका सचिव कृष्ण बद्री पौडेलले गर्नुभएको थियो ।








