बाबुराम फ्युबा
धादिङ, २७ पौष २०८२
खनियाबास गा.पा ३ बृचेतमा मिति २०८२/०९/२६ गते श्री बृचेत माध्यमिक विद्यालयको ५२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री पहलमान सिंह (सन्तोष) तामाड॰को सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा डा. नवराज सिंखडाको प्रमुख आतिथ्य तथा गाउँपालिका प्रमुख श्री रणबहादुर तामाड॰को विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालकुमारी तामाङ, शिक्षा स्रोत व्यक्ति कपिलदेव ठाकुर, पूर्व उपाध्यक्ष योमाया तामाङलगायत शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वार्षिक उत्सवको अवसरमा विद्यार्थी, शिक्षक र अभिभावकहरूद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशेष रूपमा विद्यार्थीहरूले स्थानीय पहिचान झल्किने घोडा नाच तथा ल्हल्हिमो नाच प्रस्तुत गरी दर्शकहरूको मन जित्न सफल भएका थिए ।
कार्यक्रममा बोल्दै स्थानीय सांस्कृतिककर्मीहरूले यस्ता मौलिक सांस्कृतिक प्रस्तुतीहरूले संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने दरिलो परम्पराको थालनी गर्ने बताएका थिए । उनीहरूले विद्यालयस्तरबाटै मौलिक कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले आगामी दिनहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको थियो । 







