काठमाडौं

संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम आज माघ ६ गते सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार साँझ ६ बजेसम्म देशभरबाट कुल २ हजार ९२५ उम्मेदवारी दर्ता भएका छन्।
मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा सरोकारवाला पक्षप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। आगामी निर्वाचनका बाँकी कार्यक्रमहरूमा पनि सबैको सहयोग प्राप्त हुनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभयो।
निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारीमध्ये महिला ३३६ जना र पुरुष २ हजार ५८९ जना रहेका छन्। यस्तै, अपाङ्गता भएका व्यक्तिबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
आयोगले मनोनयनसम्बन्धी प्रारम्भिक विवरण मंगलबार राति नै सार्वजनिक गर्ने जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार, मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिनेछ। उजुरी तथा मनोनयन पत्र उपर माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ तथा निर्णय गरिनेछ।
त्यसपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0