काठमाडौं
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीमा भएका बेथितिबारे छानबिन गर्न गठन गरिएको सहकारीमा भएको बेथितिसम्बन्धी छानबिन आयोग मा नवराज सिम्खडालाई सदस्यमा मनोनयन गरेको छ।
मन्त्रालयले मिति २०८२/१०/०४ मा निर्णय गर्दै आयोगको कार्यसम्पादन समिति गठन गरेको हो। उक्त आयोगले सहकारी क्षेत्रमा देखिएका अनियमितता, समस्या तथा बेथितिबारे अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ। आयोगले गठन भएको मितिले तीन महिनाभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
छानबिन आयोगको अध्यक्षमा भक्तपुरका विनोद प्रसाद शर्मा रहेका छन् भने सदस्यहरूमा चितवनका नवराज सापकोटा, कास्कीका पुष्प प्रसाद दहाल, धादिङका नवराज सिम्खडा तथा काठमाडौं महानगरपालिकाका वसन्त बहादुर शाक्य (विज्ञ सदस्य) रहेका छन्।
धादिङ जिल्लाको बिकट गाउँ दार्खा मा जन्मनु भएका नवराज सिम्खडा केही समय अध्यापन पेशामा संलग्न रहनुभएको थियो। त्यसपछि उहाँ लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ। सहकारी क्षेत्रको व्यवहारिक अनुभव, अध्ययन र कार्यक्षेत्रमा गरेको योगदानका आधारमा उहाँलाई आयोगको सदस्यको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
सहकारी क्षेत्रमा देखिँदै आएका समस्या समाधान, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउन आयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोगमा मनोनयन भएपछि सिम्खडालाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।






