काठमाडौं

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो औपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

महामन्त्री प्रदीप पौडेलले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका छन् । ‘भोलि दिउँसो १ बजे सानेपा मा बैठक हुने ।

गत पुस ३० गते सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । सभापति निर्वाचित भएपश्चात् थापाले पहिलो र दोस्रो केन्द्रीय समिति बैठक होटलमै गरेका थिए । यस्तै, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठकसमेत होटलमै सम्पन्न गरिएको थियो ।

थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपा नगएको भन्दै पार्टीभित्र विभिन्न टिप्पणी हुँदै आएका थिए । तर, अब पहिलो पटक सानेपामै औपचारिक बैठक बस्न लागिएको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेले पनि शुक्रबार केन्द्रीय कार्यालयमै बैठक बस्ने पुष्टि गर्दै भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौं ।’

पार्टी स्रोतका अनुसार उक्त बैठकमा संगठन सुदृढीकरण, आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र राजनीतिक कार्यदिशासँगै सभापति गगन थापालाई औपचारिक रूपमा प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस हुने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0