काठमाडौं , ११ माघ २०८२
प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा बजारमा अण्डाको माग बढेसँगै यसको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य तोकेको हो ।
सङ्घका अनुसार साविकको मूल्यमा प्रति क्रेट ३० रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार ठूलो अण्डाको फार्म मूल्य प्रति क्रेट ४९५ रुपैयाँ र मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोलका कारण माग बढ्नु, सीमा नाकामा कडाइ गरिनु, लामो समयपछि बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आउनु तथा उत्पादनमा कमी आउनुले अण्डाको मूल्य बढ्न पुगेको हो ।
हाल अण्डाको उत्पादन लागत प्रति क्रेट करिब ५७४ रुपैयाँ रहेको सङ्घले जनाएको छ । उत्पादन लागतभन्दा बजार मूल्य अझै कम रहे पनि पछिल्ला दिनहरूमा मूल्य बढ्ने क्रममा रहेकाले लामो समयदेखि घाटामा रहेका किसानहरूमा केही आशा पलाएको छ ।
सङ्घले आगामी दिनमा माग र आपूर्तिको अवस्थाअनुसार मूल्य पुनरावलोकन गर्न सकिने जनाएको छ ।






