धादिङ
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्त र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सञ्चालन गरिएको ‘निर्वाचन प्रहरी अनुशिक्षण’ तालिम आज समापन भएको छ ।
शारीरिक तन्दुरुस्ती, प्रारम्भिक स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ता परीक्षामा उत्तीर्ण भएका निर्वाचन प्रहरीहरूका लागि यस कार्यालय तथा मातहतका निकायमा मिति २०८२ माघ १८ गतेदेखि २७ गतेसम्म १० कार्यदिन अवधिको उक्त तालिम सञ्चालन गरिएको थियो ।
तालिम अवधिभर निर्वाचन सुरक्षासम्बन्धी कानुनी व्यवस्था, मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, आचारसंहिता पालना, आपतकालीन अवस्थाको सामना तथा व्यावहारिक अभ्यासहरू गराइएको थियो ।
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले तालिमले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वासयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार तालिम प्राप्त प्रहरीहरूले निर्वाचन अवधिभर उच्च सतर्कता, व्यावसायिकता र तटस्थताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन् ।
यस तालिममार्फत निर्वाचन सुरक्षालाई थप मजबुत बनाउँदै आम मतदातालाई निर्भीक भएर मतदान गर्न सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।






