अमित पौडेल
धादिङ ,धादिङ बेसी
नेपालको प्रथम शहीद क्या लखन थापा मगरको १४९औँ स्मृति दिवस धादिङमा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ। स्मृति दिवसका अवसरमा नीलकण्ठ नगरपालिका–३ मा अवस्थित शहीद क्या लखन थापा मगरको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश समितिका उपाध्यक्ष ईश्वर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि थापा मगरले शहीद लखन थापा मगरले निरंकुश शासनविरुद्ध आवाज उठाउँदै जनअधिकारका लागि गरेको बलिदान नेपाली इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरे। उनले शहीदको त्याग र संघर्षबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिए।
त्यस्तै, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य पाटा मगर, नेपाल मगर संघ धादिङका पूर्व अध्यक्षहरू हरिशंकर गिदेल मगर र अमृता रेश्मी मगर लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। वक्ताहरूले शहीद लखन थापा मगरको योगदानलाई राज्यस्तरबाट अझ व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्थानीय मगर समुदायका अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। स्मृति दिवसले शहीद क्या लखन थापा मगरको ऐतिहासिक योगदानलाई स्मरण गर्दै राष्ट्रिय एकता, पहिचान र अधिकारका पक्षमा एकजुट हुन आह्वान गरेको आयोजकले जनाएको छ।






