धादिङ । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेस धादिङले मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवारहरूले घरदैलो, अन्तरसंवाद र टोल–भेटघाट कार्यक्रमलाई सघन बनाएका हुन्।

प्रत्यक्षतर्फका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य रमेश धमला र समानुपातिकतर्फका उम्मेदवार सेतेमान तामाङ यतिबेला विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।

विशेषगरी गंगाजमुना गाउँपालिकामा तीनदिने कार्यक्रम तय गर्दै उम्मेदवारहरू ७ वटै वडामा पुगेर स्थानीयका समस्या, सुझाव र अपेक्षा सुन्दै आएका छन्। नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को आयोजनामा सुरु गरिएको उक्त कार्यक्रम फागुन २, ३ र ४ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिएका छन्।

कुल १८ हजार ६०१ मतदाता रहेको उक्त पालिकामा कांग्रेसले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधारका एजेन्डा अघि सारेको छ।

भेटघाटका क्रममा उम्मेदवारहरूले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै समृद्ध धादिङ निर्माणका लागि कांग्रेसको भूमिकाबारे जानकारी दिँदै ‘रूख’ चिन्हमा मतदान गर्न अपिल गरेका छन्। कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको र मतदाताले आफ्ना जिज्ञासा र प्रश्नहरू पनि राख्ने अवसर पाएको जनाइएको छ।

निर्वाचनको माहोल तातिँदै जाँदा धादिङ क्षेत्र नं. २ मा राजनीतिक गतिविधि दिनप्रतिदिन सक्रिय बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0