धादिङ , २ फागुन २०८२
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारीलाई मनोनित गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेको नेतृत्वमा गठित उक्त समितिमा अधिकारीलाई शनिबार मनोनयन गरिएको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गठन भएको प्रचार–प्रसार समिति निर्वाचन परिचालनपछिको प्रभावशाली संरचनाका रूपमा लिइन्छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति रहेको छ भने प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचार–प्रसार समिति क्रियाशील छ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्षसमेत रहेका अधिकारी १४औँ महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएका थिए। उनले २०६४ सालदेखि हालसम्म भएका विभिन्न तहका निर्वाचनमा केन्द्रीय तहबाट प्रचार–प्रसारको जिम्मेवारी सम्हाल्दै आएका छन्। प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाइन तथा मल्टिमिडिया क्षेत्रमा उनको लामो अनुभव रहेको बताइन्छ।
मनोनयनपछि अधिकारीले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। “सभापति, उपसभापति र प्रवक्ताले गरेको विश्वासप्रति म कृतज्ञ छु,” उनले भने, “पार्टीका उम्मेदवार र ‘रूख’ चिन्हमा मत अभिवृद्धि गर्न सक्रियताका साथ लाग्नेछु।”
नेपाल नगरपालिका संघका केन्द्रीय सल्लाहकारसमेत रहेका अधिकारीले पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन गरेका छन्। २०५८ सालमा नीलकण्ठ उच्च माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राजनीति यात्रा सुरु गरेका उनी हाल नीलकण्ठ नगरपालिका केन्द्रित राजनीतिमा सक्रिय छन्।






