फाल्गुन ६, २०८२ , काभ्रे
काभ्रेको बनेपामा टिपरको ठक्करबाट मृत्यु भएका स्कुटर चालकको पहिचान खुलेको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार आज बिहान बनेपा टेलिकम चोकमा बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश–०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३० वर्षीय ओमन प्रधानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक प्रधानको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा–मुढा प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो।
घटनाका कारण केही समय अवरुद्ध बनेको अरनिको राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






