जनकपुरधाम , ६ फाल्गुन २०८२

मधेश प्रदेशको राजधानी जनकपुरमा आज आयोजित नेपाली कांग्रेसको प्रतिज्ञा सभा सम्पन्न भएको छ। सभामा पार्टी सभापति  गगन कुमार थापा द्वारा  औपचारिक प्रतिज्ञापत्रसँगै ‘VIS10N’ (भिजन–१०) सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा प्रत्येक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्दै नवीन सोच, उद्यमशीलता र सीप विकासमा प्रोत्साहन गरिने उल्लेख छ।

विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई मातृभूमिसँग जोड्ने, लगानीकर्तालाई प्रोत्साहन गर्ने तथा साना–ठूला व्यवसायलाई साथ दिने नीति अवलम्बन गरिने दस्तावेजमा उल्लेख गरिएको छ। कृषिलाई बाध्यता नभई मर्यादित र सम्मानित पेशाका रूपमा विकास गरिने प्रतिबद्धता पनि जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा गर्भावस्थादेखि वृद्धावस्थासम्म स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्ने तथा शिक्षामा प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्म प्रविधिमैत्री र व्यावसायिक शिक्षा प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै, ‘निमुखालाई ऐन, ठूलालाई चैन’ भन्ने अवस्थाको अन्त्य गर्दै कानुनी समानता कायम गर्ने, सरकारी सेवामा डिजिटल प्रणाली विस्तार गर्ने, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्ने उल्लेख छ। राज्यका संस्थाहरूमा दलियकरण अन्त्य गर्ने तथा राष्ट्रिय हित र सार्वभौमिक समानतामा आधारित परराष्ट्र नीति अवलम्बन गरिने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा सहभागी सम्पूर्णप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।

कांग्रेसले जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्र र ‘VIS10N’ मार्फत समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्य अघि सारेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0