धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा ‘आँखा’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका प्रलोपाका उम्मेदवार वीरबहादुर तामाङ (चम्पासिङ) यतिबेला विकास र सुशासनका एजेन्डासहित मतदातामाझ सक्रिय रूपमा प्रस्तुत भइरहेका छन्।
पूर्व संविधानसभा सदस्यसमेत रहनुभएका तामाङले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यसहित घरदैलो अभियानलाई तीव्रता दिएका छन्। पछिल्लो समय उनी नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका लगायतका क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
घरदैलोका क्रममा उनले स्थानीय समस्या, आवश्यकताहरू र जनअपेक्षाबारे सुझाव लिँदै आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन्। आफू निर्वाचित भएमा जनताको आवाजलाई संसदमा प्रभावकारी रूपमा उठाउने, स्थानीय आवश्यकता अनुसार नीतिगत सुधार गर्ने तथा कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
“जनताको जीवनस्तर सुधार्ने गरी व्यवहारिक र समयसापेक्ष कानुन निर्माण गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,” तामाङले बताएका छन्।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छन्। रोजगारी सिर्जना, सडक तथा खानेपानी विस्तार, कृषिको आधुनिकीकरण र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजना आफ्नो चुनावी एजेन्डाको प्रमुख आधार रहेको उनको भनाइ छ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वच्छ र मर्यादित प्रतिस्पर्धामा विश्वास गर्ने उम्मेदवारका रूपमा तामाङ परिचित छन्। उनले मतदातालाई विकास, सुशासन र पारदर्शिताका आधारमा आफूलाई मूल्यांकन गर्न आग्रह गरेका छन्।
धादिङ–२ मा वैकल्पिक राजनीतिक शक्तिको रूपमा उभिने प्रयासमा रहेका तामाङको सक्रियता र स्पष्ट एजेन्डाले आगामी निर्वाचनमा नयाँ समीकरणको संकेत दिएको स्थानीय राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
धादिङ–२ मा प्रलाेपाका उम्मेदवार तामाङकाे घरदैलो तीव्र, विकास एजेन्डासहित मतदातामाझ सक्रिय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






