बद्री पौडेल
धादिङ , खनियाबास झार्लाङ , ७ फाल्गुन २०८२
खनियाबास गाउँपालिका–२ झार्लाङस्थित झार्लाङ स्वास्थ्य चौकीमा १९ वर्षीया चुन माया बिकले फागुन ५ गते बिहान ६:२० बजे शिशुलाई जन्म दिएकी थिइन्। जन्मलगत्तै नवजात शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि तत्काल उद्धार गरी काठमाडौको कान्ति बाल अस्पताल पठाएको हो ।
स्वास्थ्य चौकीमा प्रारम्भिक रूपमा आवश्यक ‘न्यू बोर्न केयर’ प्रदान गरिएको थियो। तर शिशुको अवस्था जटिल बन्दै गएपछि थप विशेषज्ञ उपचार आवश्यक देखिएकाले बागमती प्रदेश सरकारसँग समन्वय गरिएको खनियाबास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आईत बहादुर तामाङले जानकारी दिनुभयो।
जिल्ला जनस्वास्थ्य प्रमुख अर्जुन पौडेलका अनुसार बागमती प्रदेश सरकारको आकस्मिक अवस्थामा सुत्केरी तथा २४ घण्टाभित्रका नवजात शिशु उद्धार कार्यक्रमअन्तर्गत प्रदेश सरकारलाई अनुरोध गरी हेलिकप्टरमार्फत उद्धार गरिएको हो। “दुर्गम क्षेत्र भएकाले स्थलमार्गबाट समयमै उपचार सम्भव नहुने देखिएपछि प्रदेश सरकारसँग समन्वय गरी आकस्मिक उद्धार गरिएको हो,” पौडेलले त्रिकोण खबरलाई जानकारी दिनुभयो।
उद्धारपछि शिशुलाई काठमाडौंस्थित सुविधासम्पन्न अस्पतालको एनआईसीयू (NICU) मा भर्ना गरी उपचार थालिएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाइएको दुर्गम क्षेत्र झार्लाङमा समयमै गरिएको समन्वय र प्रदेश
सरकारको आकस्मिक उद्धार व्यवस्थाले नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीले बताएका छन्।






