धादिङ,

२०८२ फागुन ७ गते  ७५औँ प्रजातन्त्र दिवसको अवसर पारेर गणित शिक्षा परिषद् धादिङको आयोजनामा जिल्ला स्तरीय अन्तर–माध्यमिक विद्यालय गणित हाजिरजवाफ प्रतियोगिता नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ। उक्त कार्यक्रम को आर्थिक सहयोग रिडमोर पब्लिकेशन ले गरेको हो ।

कार्यक्रममा परिषद्का अध्यक्ष प्रयास रेग्मी सभापतिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने शिक्षा विकास तथा समन्वय इकाइ, धादिङका शाखा अधिकृत विजयकुमार तामाङ प्रमुख अतिथि रहनुभएको थियो। अतिथिहरूमा नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोइराला, गजुरी गाउँपालिकाका स्रोत व्यक्ति सुजन भण्डारी तथा प्याब्सन प्रतिनिधि आँचल श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। कार्यक्रम परिषद्का शाखा सचिव उत्तम भट्टले सञ्चालन गर्नुभएको थियो।

सामाजिक सञ्जालमार्फत १९ विद्यालयले नाम दर्ता गराए पनि प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो। पहिलो चरणमा प्रत्येक विद्यालयबाट तीन–तीन जना गरी ४८ विद्यार्थी सहभागी भएका थिए। ‘काहुट एप’ (Kahoot App) मार्फत ४० वस्तुगत प्रश्न सोधिएको थियो। प्रत्येक प्रश्नको अंकभार १,००० राखी कुल ४०,००० पूर्णाङ्क निर्धारण गरिएको थियो। छिटो र सही उत्तर दिने समूहले समयअनुसार अंक प्राप्त गर्ने व्यवस्था गरिएको थियो।

पहिलो चरणमा ३५ प्रश्नको सही उत्तर दिँदै नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले ३१,२७४ अंकसहित प्रथम स्थान हासिल गर्‍यो। ३४ प्रश्नको सही उत्तर दिँदै मुनाल एकेडेमी २९,४३५ अंकसहित दोस्रो स्थानमा रह्यो भने आदर्श माध्यमिक विद्यालय २५,७१४ अंकसहित तेस्रो स्थानमा रह्यो। कुल १६ टोलीमध्ये उत्कृष्ट १० टोली दोस्रो चरणका लागि छनोट भएका थिए।

दोस्रो चरण परिषद्का उपाध्यक्ष तथा क्विज मास्टर चेतनारायण श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो। यस चरणमा अंकगणित, समूह तथा क्षेत्रमिति, अनिवार्य र ऐच्छिक गणित, तथ्यांक तथा सम्भाव्यता, निर्देशाङ्क ज्यामिति, भेक्टर, त्रिकोणमिति, स्थानान्तरण, दृश्य चरण, शैक्षिक सामग्री निर्माण तथा बजर राउन्ड समावेश गरिएको थियो। निर्णायक मण्डलमा अध्यक्ष प्रयास रेग्मी संयोजक तथा सदस्यद्वय रमेश गुरुङ र के.बी. राउत रहनुभएको थियो।

प्रत्येक सही उत्तरका लागि १० अंक तथा पासमार्फत सही उत्तर दिएमा ५ अंक प्रदान गरिएको थियो। बजर राउन्डमा नकारात्मक अंक (नेगेटिभ मार्किङ) को व्यवस्था गरिएको थियो। यस चरणमा ‘अल्फा’ समूहले १२० अंकसहित अग्रता कायम गरेको थियो। उत्कृष्ट पाँच टोली फाइनल चरणमा प्रवेश गरेका थिए।

फाइनल चरण ‘र्‍यापिड फायर राउन्ड’ अन्तर्गत सञ्चालन गरिएको थियो, जसमा पाँच प्रश्न सोधिएका थिए। प्रत्येक सही उत्तरका लागि १० अंक प्रदान गरिनुका साथै गलत उत्तरका लागि ५ अंक घटाउने व्यवस्था गरिएको थियो।

अन्तिम नतिजाअनुसार ‘गामा’ समूह (नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय) प्रथम, ‘अल्फा’ समूह (धादिङ आवासीय माध्यमिक विद्यालय) द्वितीय तथा ‘उमेगा’ समूह (मुनाल एकेडेमी) तृतीय घोषित भएका छन्। ‘लेम्डा’ समूह (क्यूवा बोर्डिङ) ले सान्त्वना स्थान हासिल गरेको थियो।

जिल्ला स्तरमा आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा गणितप्रति रुचि अभिवृद्धि गर्नुका साथै तार्किक क्षमता, प्रतिस्पर्धात्मक भावना र सहकार्य संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रमबारे जानकारी चित्रबहादुर गुरुङले त्रिकोण खबरलाई दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0