काठमाडौँ , १८ फागुन
निर्वाचन सामग्री तथा कर्मचारी लिएर रामेछाप जाँदै गरेको ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। घाइते अवस्थामा उद्धार गरी सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घिमिरे रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए। उनी मन्थली नगरपालिका–७ स्थित रूद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका जनाइएको छ।
सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी बोकेको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा यसअघि नै घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको थियो।
दुर्घटनामा घाइते भएका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। अन्य घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बत्ताउनु भयो ।






