धादिङ, ४ चैत — धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ लाई जोड्ने साँकोष–तिप्लिङ सडक (दामन पाख्रिन मार्ग) अन्तर्गत पुछार बजारमा पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको छ।
करिब ३ करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त पुलका लागि बहुवर्षीय टेण्डर आह्वान गरिएको छ। चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ।
नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीम प्रसाद ढुंगानाको निरन्तर पहल, समन्वय र खबरदारीपछि पुल निर्माण प्रक्रिया अघि बढेको हो। उहाँले तत्कालीन बागमती प्रदेशका अर्थमन्त्री कुन्दन काफ्ले, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटासँग समन्वय गर्दै पुल निर्माण अघि बढाउन दबाब दिनुभएको थियो।
यसैगरी अर्थमन्त्री प्रभात तामाङले उक्त पुललाई बहुवर्षीय योजनामा समावेश गरेपछि टेण्डर प्रक्रिया अघि बढेको हो।
लामो समयदेखि पुल अभावमा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए। पुल निर्माण सम्पन्न भएपछि नीलकण्ठ नगरपालिका सहित उत्तरी धादिङका पाँच वटा पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।