ईश्वर थापा मगर/बद्री पौडेल
धादिङ — खनियावास गाउँपालिका वडा नं. ४ चिसापानी बगरमा निर्माणाधीन चिस्यान केन्द्र बजेट अभावका कारण अलपत्र परेको छ। कृषि उत्पादन भण्डारण गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजना समयमै सम्पन्न हुन नसक्दा स्थानीय कृषक मारमा परेका छन्।

संघीय सरकारको सहलगानी बजेटमार्फत हालसम्म करिब ३ करोड ११ लाख रुपैयाँ खर्च भइसकेको भए पनि थप बजेट नआउँदा निर्माण कार्य अघि बढ्न सकेको छैन। खनियावास गाउँपालिकाका इन्जिनियर जीवन गुरुङका अनुसार आवश्यक रकम अभावकै कारण परियोजना रोकिएको बताए ।

स्थानीय स्तरमा उत्पादन हुने फलफूल तथा बिशेष गरि साविक झार्लाङको आलु भण्डारण गर्ने लक्ष्यसहित निर्माण थालिएको चिस्यान केन्द्र हाल भुईँ ढलान र केही फलामे पिल्लरमै सीमित छ। करिब ३ करोड ११लाख लागतमा निर्माण सुरु भएको परियोजनाको हालसम्म करिब २० प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ।

२०८० सालमै सुरु गरिएको उक्त योजना २०८१ असार १३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयसीमा बितिसक्दा पनि निर्माण कार्यले गति लिन नसक्दा स्थानीयवासी निराश बनेका छन्।

चिस्यान केन्द्र समयमै सञ्चालनमा आउन नसक्दा किसानहरूले उत्पादन गरेको कृषि उपज उचित रूपमा भण्डारण गर्न नपाउँदा नोक्सानी व्यहोर्नु परेको गुनासो गरेका छन्। स्थानीय तहले संघीय सरकारसँग आवश्यक बजेट उपलब्ध गराई परियोजना छिटो सम्पन्न गर्न आग्रह गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0