ओखलढुंगा , २२ चैत
कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको नेतृत्वमा आएको टोलीले जिल्लाका स्वास्थ्य संस्थाहरूको अनुगमन गर्दै सेवा सुधारमा जोड दिएको छ।
टोलीले रुम्जाटारस्थित स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा आयुर्वेद केन्द्रको अवलोकन गरी सेवा प्रवाह, जनशक्ति अवस्था, पूर्वाधार र औषधि आपूर्तिबारे विस्तृत जानकारी लिएको थियो।
अनुगमनका क्रममा स्वास्थ्य कार्यालय प्रमुख मनिषा मोक्तान र जिल्ला अस्पताल प्रमुख डा. अमृता श्रेष्ठले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि विभिन्न आवश्यकताहरू औंल्याएका छन्। उनीहरूले तालिम विस्तार, जीर्ण भवन मर्मत, पर्याप्त जनशक्ति व्यवस्थापन तथा अक्सिजन प्लान्ट मर्मतलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै एम्बुलेन्स सेवा सुदृढीकरण, ल्याब उपकरण थप, व्यवस्थित स्टोर व्यवस्थापन र स्वास्थ्यकर्मीका लागि स्टाफ क्वाटर निर्माणका लागि बजेट माग गरिएको छ।
स्वास्थ्य मन्त्री लिम्बुले जिल्लामा स्वास्थ्य सेवा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उठाइएका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बिरामीमैत्री सेवा सुनिश्चित गर्न र न्यूनतम सेवा मापदण्ड कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेसहितको टोली अनुगमनका लागि ओखलढुंगा पुगेको हो।






