क्रोएसियामा धादिङकी युवती मृत फेला
मृत्युको कारण खुल्न सकेन, अनुसन्धान जारी
काठमाडौँ — वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसियामा रहेकी धादिङकी २२ वर्षीया आनन्दी तामाङ मृत अवस्थामा फेला परेकी छन्। नेत्रावती डवजोङ गाउँपालिका–३ गैरा घर भएकी तामाङ गत शनिबार आफू बस्दै आएको होस्टेलमा मृत फेला परेको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सुरेश वाईवाले जानकारी दिएकाे छ। घटनाबारे हालसम्म उनको मृत्युको कारण खुल्न सकेको छैन।
करिब दुई वर्षअघि रोजगारीका लागि क्रोएसिया पुगेकाे वाईवाले बताए। विदेशमा काम गर्दै आएकी उनी अचानक मृत फेला परेपछि परिवार तथा आफन्तजन शोकमा डुबेका छन्। घटनापछि परिवारसँगै स्थानीय स्तरमा पनि चिन्ता र दुःख व्यक्त गरिएको छ।
स्थानीय स्रोतका अनुसार घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ। यद्यपि, आधिकारिक रूपमा मृत्युको कारणबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन। घटनास्थल र परिस्थितिबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ।
मृतकका परिवारजनले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र स्पष्ट जानकारी उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, शवलाई नेपाल ल्याउने प्रक्रिया शीघ्र अघि बढाउन समेत पहल गरिनुपर्ने माग गरिएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको सुरक्षा अवस्था र कार्यपरिस्थितिबारे पुनः प्रश्न उठाएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाका विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।






