काठमाडौँ, २५ चैतः हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा उल्लेख्य बदली देखिएको छ। यसका कारण देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदली रही मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। यद्यपि पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने र अन्य भागमा आंशिक बदली रहने सम्भावना छ। ती प्रदेशका धेरै स्थानका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मधेश तथा कोशी र बागमती प्रदेशका तराईका केही क्षेत्रमा पनि यस्तै खालको मौसमीय गतिविधि देखिन सक्ने अनुमान गरिएको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा पहाडी र हिमाली भेगमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
संभावित प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले विशेष गरी मेघगर्जन, चट्याङ, हुरी तथा असिनाबाट प्रभावित हुन सक्ने क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशभर वर्षा, हिमपात र असिनाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






