बद्री पौडेल

धादिङ  ,  २४ चैत २०८२

जिल्लाकै जेठो सहकारी संस्था नीलकण्ठ सहकारी लिमिटेडले सहकारीको इतिहास, सेवा विस्तार र सदस्यमुखी कार्यक्रमलाई निरन्तरता दिँदै ५ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ।

वि.सं. २०१९ सालमा स्थापना भएको यस सहकारीको प्रारम्भिक नाम ‘पाताले सहकारी’ थियो, जुन सुनौलाबजारमा करिब २४/२५ जना सदस्यबाट सुरु भएको थियो। वि.सं. २०२८ तिर सदरमुकाम धादिङ झरेपछि पुच्छार बजारमा ‘साझा संस्था’का रूपमा सञ्चालन हुँदै आएको यो सहकारी २०४७ सालमा समुदायमा हस्तान्तरण भएपछि ‘नीलकण्ठ सहकारी’ नामकरण गरिएको हो। अर्ध–सरकारी स्वरूपबाट सुरु भएको संस्था हाल पूर्ण रूपमा समुदायमा आधारित सहकारीका रूपमा स्थापित भएको छ।

हाल सहकारीमा १ हजार ३६ जना सदस्य आबद्ध छन्। सहकारीले मल, बीउ, चिनी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ भने संस्थासँग करिब २ रोपनी जग्गा समेत रहेको छ।

सदस्यहरूको क्षमता अभिवृद्धि र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०८२ चैत २० गतेदेखि चैत २४ गतेसम्म ५ दिनसम्म अध्ययन अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिएको हो। भ्रमणमा ३४ जना शेयर सदस्य सहभागी थिए, जसमा १८ पुरुष र १६ महिला रहेका थिए।

भ्रमण टोलीले मुस्ताङको अपर मुस्ताङस्थित कोरला नाका पुगेर फर्किने क्रममा मुक्तिनाथ, म्याग्दीको गलेश्वर महादेव, तातोपानी, बागलुङ कालिका, लामो झोलुङ्गे पुल, कुस्माको बन्जी पुल, पोखराको महेन्द्र गुफा (गुप्तेश्वर गुफा), फेवाताल, बेगनास ताल तथा पुम्दीकोट लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गरेको थियो।

सहकारीका व्यवस्थापक हरि रिजालका अनुसार भ्रमणका लागि शेयर सदस्यहरूबाट २ लाख ८० हजार रुपैयाँ संकलन गरिएको थियो भने कुल खर्च ३ लाख ८२ हजार रुपैयाँ पुगेको छ। अपुग रकम सहकारीले शिक्षा उपसमितिको शीर्षकबाट व्यहोर्ने अध्यक्ष केदारनाथ कोइरालाले जानकारी दिएका छन्।

अध्यक्ष कोइरालाको नेतृत्वमा सम्पन्न उक्त भ्रमणले सदस्यहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र सहकारीप्रतिको विश्वास अझ मजबुत बनाएको बताइएको   संस्थाका उपाध्यक्षद्वय खगेन्द्र कोइराला र विष्णु प्रसाद ढुङ्गानाले भ्रमण अत्यन्त सफल र फलदायी भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0