धादिङ, २५ चैत — धादिङको गजुरी गाउँपालिका–२ रातमाटे स्थित चालिसे–वालिसङ भित्रि सडकखण्डबाट प्रहरीले ३० किलोग्राम लागू औषध (गाँजा) सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सोमबार साँझ करिब ७:३० बजे दुई मोटरसाइकललाई रोकी जाँच गर्दा लागू औषध बरामद गरेको हो।

प्रहरीका अनुसार बा.प्र.०२–०५३ प ६६९३ नम्बरको २२० सि.सि. पल्सर मोटरसाइकलको पछाडि राखिएको निलो रङको सुटकेसभित्र पहेँलो टेपले बेरेका चार वटा पोकामा लुकाइछिपाइ ल्याइएको अवस्थामा ३० केजी गाँजा फेला परेको थियो। उक्त मोटरसाइकल वालिसङबाट चालिसेतर्फ आउँदै गर्दा रोकी जाँच गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा सो मोटरसाइकल चालक गजुरी गाउँपालिका–३ बस्ने ३५ वर्षीय सञ्च बहादुर खुलाल तामाङ र बा ६२ प १२८६ नम्बरको १५० सि.सि. पल्सर मोटरसाइकल चालक २२ वर्षीय बिरेन्द्र रुम्बा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरिएको लागू औषध तथा प्रयोग गरिएका दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0