सातै वडाका सबै घरधुरीले सरसफाइका मापदण्ड पूरा गरेपछि ऐतिहासिक उपलब्धि
धादिङ, २९ चैत : धादिङको ज्वालामुखी गाउँपालिकालाई देशकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिकाको रूपमा घोषणा गरिएको छ। “मिसन २०८२: सफा र स्वच्छ क्षेत्र ज्वालामुखी” भन्ने नाराका साथ आइतबार वडा नम्बर ४ स्थित बराह कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गाउँपालिकालाई नमुना सफा र स्वच्छ क्षेत्र घोषणा गर्नुभएको हो।

गाउँपालिकाभित्रका सातै वडाका सबै ६ हजार ७९ घरधुरीले सरसफाइका न्यूनतम मापदण्ड पूरा गरेपछि समग्र गाउँपालिकालाई नमुना घोषणा गरिएको हो। यसअघि केही वडाहरूलाई मात्र नमुना घोषणा गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार प्रत्येक घरधुरीमा तोकिएका १५ सूचक पूरा भए नभएको विषयमा चार चरणसम्म सूक्ष्म अनुगमन गरिएको थियो।
कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार गाउँपालिका भित्रका शतप्रतिशत घरधुरीले सरसफाइसम्बन्धी सबै मापदण्ड पूरा गरेका छन्। गाउँपालिकाले चर्पीको समुचित प्रयोग, खुला दिसामुक्त क्षेत्रको दिगोपन, व्यक्तिगत सरसफाइ, शुद्ध पानीको प्रयोग, स्वस्थकर खानपान तथा फोहोर व्यवस्थापनजस्ता पाँच प्रमुख क्षेत्रमा केन्द्रित भएर अभियान सञ्चालन गरेको थियो।

गाउँपालिका अध्यक्ष यमनाथ दनैले अभियान सफल बनाउन नागरिकको व्यवहार परिवर्तनमा विशेष जोड दिइएको बताउनुभयो। अभियान कार्यान्वयनमा टोल सुधार समिति, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय तथा स्थानीय क्लबहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, घरधुरी सर्वेक्षण र सूचक प्रमाणीकरणका लागि विज्ञ प्राविधिक टोली परिचालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आगामी वर्षहरूमा सरसफाइ अभियानलाई दिगो बनाउँदै ‘शून्य फोहोर’ को अवधारणातर्फ अघि बढ्न विशेष बजेट तथा कार्यक्रमसमेत तयार गरेको छ। यस उपलब्धिसँगै ज्वालामुखी गाउँपालिका सरसफाइका क्षेत्रमा राष्ट्रिय स्तरमै अनुकरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ।
घोषणा कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सांसद वोध नारायण श्रेष्ठ, पूर्व कृषि मन्त्री रामनाथ अधिकारी, संविधान सभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, प्रदेश सांसद गोविन्द लम्साल तथा पूर्व मन्त्री डा. रामकुमार अधिकारीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न भएको हो।






