पहिलो चरणमा ३,८५० घरधुरीमा हाउस नम्बरिङ, क्रमशः सबै वडामा विस्तार हुने
धादिङस्थित नीलकण्ठ नगरपालिकाले शहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन मेट्रिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयन सुरु गरेको छ। नगरभित्र रहेका १६ हजार ३ सय ९१ घरधुरीमध्ये पहिलो चरणमा ३ हजार ८ सय ५० घरधुरीमा हाउस नम्बरिङ तथा सडक सूचना बोर्ड जडान गर्ने काम अघि बढाइएको नगरपालिकाले जनाएको छ।
पहिलो चरणमा वडा नम्बर ३, ४, ८ र १२ मा निजी घरहरूमा नम्बर प्लेट जडान गरेर प्रणाली लागू गरिएको छ। नगरपालिकाका अनुसार आगामी दिनमा यो प्रणाली क्रमशः सबै १४ वटै वडामा विस्तार गरिनेछ।
मेट्रिक मापन एकाइमा आधारित यो प्रणालीअन्तर्गत सडकको सुरु बिन्दुबाट दूरी नाप गरी सोही आधारमा घर नम्बर निर्धारण गरिन्छ। यसमा सडकको दायाँतर्फका घरलाई जोर नम्बर र बायाँतर्फका घरलाई बिजोर नम्बर दिने व्यवस्था गरिएको छ। पूर्व सल्लाहकार दिपक कोइरालाका अनुसार समान दूरीमा रहेका घरहरूमा पनि यही विधि अपनाइनेछ।
नगर प्रमुख भीमप्रसाद ढुँगानाका अनुसार प्रविधिसँग जोडिएको यस प्रणालीले नगरवासीलाई सेवा प्रवाह सहज बनाउने लक्ष्य राखिएको छ। आपतकालीन अवस्थामा दमकल, एम्बुलेन्स, प्रहरी, टेलिफोन, विद्युत र खानेपानीजस्ता सेवाहरू छिटो र प्रभावकारी रूपमा पुर्याउन यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।
यससँगै प्रणाली जडान भएका घरधुरी र सडकको डिजिटल नक्सा तयार गरिनेछ, जसले गुगल म्यापमार्फत घर पहिचान गर्न समेत सहज बनाउने नगरपालिकाले जनाएको छ। यो पहलसँगै नीलकण्ठ नगरपालिका आधुनिक, व्यवस्थित र ‘स्मार्ट सिटी’तर्फ अघि बढ्ने दिशामा एक कदम अगाडि बढेको छ।






