बद्री पौडेल
धादिङ बेसी :- ७ बैशाष २०८३
देशव्यापी रूपमा सञ्चालन गरिएको दुई दिने राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत धादिङ जिल्लामा १९ हजार ४०० भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीका अनुसार वैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा जिल्लाभर करिब ४६० केन्द्रमार्फत औषधि वितरण गरिएको थियो। अभियान अन्तर्गत स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू सक्रिय रूपमा परिचालित भएका थिए।
स्वयंसेविकाहरूले गाउँ–गाउँमा पुगेर बालबालिकालाई औषधि खुवाउनुका साथै अभिभावकहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरेका थिए। उनीहरूको सक्रियताका कारण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको जनाइएको छ।
बालबालिकाको स्वास्थ्य संरक्षण र पोषण सुधारलाई लक्ष्य गर्दै सञ्चालन भएको यस अभियानमार्फत ६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क रूपमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईएको , आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत अनिवार्य रूपमा औषधि सेवन गराउन अनुरोध गरिएको थियो ।
नेपालमा सन् १९९३ देखि भिटामिन ‘ए’ क्याप्सुल वितरण कार्यक्रम सुरु गरिएको हो भने सन् २००१ देखि जुकाको औषधिसहित संयुक्त रूपमा अभियान सञ्चालन हुँदै आएको छ। यो कार्यक्रम प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा नियमित रूपमा सञ्चालन गरिन्छ।
अभियान अन्तर्गत ६ देखि १२ महिनासम्मका बालबालिकालाई १ लाख आई.यु. (आधा क्याप्सुल) र १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २ लाख आई.यु. (एक क्याप्सुल) भिटामिन ‘ए’ खुवाइनेछ। त्यसैगरी, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि अल्बेन्डाजोल खुवाइनेछ, जसमा १–२ वर्षसम्मका लागि २०० मिलिग्राम (आधा चक्की) र २–५ वर्षसम्मका लागि ४०० मिलिग्राम (एक चक्की) मात्रा निर्धारण गरिएको छ।
यसै अभियान अन्तर्गत ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई ‘बालभिटा’ नामक बहु-सूक्ष्म पोषक तत्व पनि वितरण गरिएको हो , साथै, ५ वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था पहिचान गर्न पाखुराको नाप लिने कार्यसमेत गरिएको जनाइएको छ। शिशुलाई स्तनपानमार्फत भिटामिन ‘ए’ उपलब्ध गराउन सुत्केरी भएको ६ हप्ताभित्रका आमाहरूलाई समेत एक क्याप्सुल भिटामिन ‘ए’ खुवाइने व्यवस्था गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार भिटामिन ‘ए’ शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले आँखाको स्वास्थ्य जोगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाएर विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्दछ। यसले बालबालिकाको समुचित वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
सरकारद्वारा निःशुल्क उपलब्ध गराइने यी औषधिहरू सुरक्षित र प्रभावकारी रहेको जनाउँदै अभियानलाई सफल बनाउन अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सञ्चारकर्मी सबैको सक्रिय सहकारिता रहेको मन्त्रालयले जनाएको छ। 






