धादिङ, बैशाख १३— ९९औं राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा फोटो पत्रकार समूह धादिङले जिल्लाका पहिलो फोटोग्राफर महेन्द्र डल्लाकोटीलाई विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय रहँदै आएका डल्लाकोटीलाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
बैयासी वर्ष पुगेका डल्लाकोटीले कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै विगतका दिनहरू स्मरण गरे। “पाँच जिल्लाको फोटो एक्लै खिच्थें, अहिले साठी वर्ष पुगेको मान्छे जस्तो होइन, बाइस वर्षको जस्तो जोश थियो,” उनले हाँस्दै व्यङ्ग्यात्मक शैलीमा भने ” साठी बर्ष पुगेँ , बाईस बर्ष भएँ , ” ।
उनका अनुसार सुरुवाती दिनहरूमा मानिसहरू ‘फलानाको जस्तो फोटो खिचिदिनु’ भन्ने गर्थे, तर उनी त्यसमा रमाइलो गर्दै “उसकै जस्तो फोटो खिच्दा कसैको जस्तो आउँछ र?” भन्दै जवाफ दिने गर्थे।
डल्लाकोटीले वि.स. २०२२ सालदेखि फोटो खिच्न सुरु गरेको बताउँदै त्यस समयको चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो पेशालाई निरन्तरता दिएको उल्लेख गरे। प्रविधि र स्रोतसाधनको अभावका बीच उनले धादिङसहित आसपासका जिल्लाहरूमा फोटो खिच्दै आफ्नो पहिचान स्थापित गरेका थिए।
हाल उनका छोराछोरीले फोटो स्टुडियो सञ्चालन गर्दै व्यवसायलाई निरन्तरता दिइरहेका छन्। कार्यक्रममा सहभागीहरूले डल्लाकोटीको योगदानले धादिङमा फोटो पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
कार्यक्रममा फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
धादिङका पहिलो फोटोग्राफर महेन्द्र डल्लाकोटी सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






