धादिङ , १३ बैशाष २०८३
धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा निर्माण सम्पन्न आधारभूत अस्पताल भवनको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले गर्नुभएको छ।
गाउँपालिका अध्यक्ष भक्त लामाको बिशेष आतिथ्यता रहेको र वडा न ५ का अध्यक्ष कुमार ब. अधिकारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले जानकारी दिँदै गङ्गाजमुना गाउँपालिका धादिङ जिल्लामै स्थानीय तहमा चिकित्सक राखी सेवा सुरु गर्ने पहिलो पालिका भएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले २०७६ सालदेखि नै MBBS डाक्टरमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री थापाले गाउँ–गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नु राज्यको प्राथमिकता भएको उल्लेख गर्नुभयो।
गाउँपालिका अध्यक्ष भक्त लामाले धादिङको दुर्गम भेगमा आधारभूत अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दा स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।







