बुधबार, ९ मंसिर २०८३

भोटेकोसी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

९ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

बिदुर ,नुवाकोट ,२०८३ मंसिर ९ गते

भोटेकोसी बाढीबाट प्रभावित भई घरबार छाडेर सुरक्षित स्थानमा भाडामा बस्न बाध्य नुवाकोटको विदुर नगरपालिकाका परिवारले घरभाडाबापतको सरकारी सहायता पाउन थालेका छन्। संघीय सरकारको घोषणाअनुसार नगरपालिकाले पहिलो चरणमा ९७० परिवारको बैंक खातामा रकम पठाउन सुरु गरेको हो।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई लक्षित गरी रकम वितरण थालिएको हो। वडा नं. १० वेत्रावतीसहित प्रभावित क्षेत्रबाट सुरु गरिएको वितरण प्रक्रिया अहिले नगरपालिकाका सबै प्रभावित वडामा विस्तार गरिएको उनले बताए।

नगरपालिकाको योजना शाखामा कार्यरत हरि प्याकुरेलका अनुसार लाभग्राहीको विवरण र आवश्यक प्रक्रिया पूरा भएका परिवारलाई चरणबद्ध रूपमा घरभाडाबापतको रकम उपलब्ध गराउन लागिएको हो। विवरण अद्यावधिक तथा प्रमाणीकरणको कामसमेत जारी रहेकाले लाभग्राही कायम भएका सबै परिवारलाई क्रमशः रकम वितरण गरिने उनले जानकारी दिए।

यसअघि विदुर नगर कार्यपालिकाको भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावित परिवार आश्रयस्थल छाडेर सुरक्षित स्थानमा घरभाडामा बस्न चाहेमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि संघीय सरकारले समेत बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनासम्म घरभाडाबापतको रकम उपलब्ध गराउने घोषणा गरेको थियो। संघीय सरकारको व्यवस्थाअनुसार दोहोरो भुक्तानी नहुने गरी नगरपालिकाले रकम वितरण अघि बढाएको हो।

सरकारी मापदण्डअनुसार चार जनासम्म सदस्य भएको परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछ भने चार जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि मासिक दुई हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ।

नगर उपप्रमुख प्रभा बोगटीका अनुसार विदुर नगरपालिकामा हालसम्म एक हजार ७८६ परिवार बाढी प्रभावित लाभग्राहीका रूपमा कायम भएका छन्। लाभग्राही पहिचान, विवरण संकलन र प्रमाणीकरणमा समय लागेकाले रकम वितरणमा केही ढिलाइ भएको उनले बताइन्। प्रभावित परिवार छुटेको गुनासोसमेत आएकाले लाभग्राहीको अन्तिम सङ्ख्या थपघट हुन सक्ने उनको भनाइ छ।

नगरपालिकाले सामाजिक संघसंस्थासँगको सहकार्यमा घरभाडामा बस्दा आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, सरसफाइ सामग्री तथा अन्य बन्दोबस्तीका सामान यसअघि नै राहतस्वरूप उपलब्ध गराउँदै आएको छ।

यता, बाढीबाट प्रभावित नुवाकोटकै बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडा सहयोगका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ। ती स्थानीय तहले लाभग्राहीको विवरण यकिन भएपछि रकम वितरण सुरु गर्ने तयारी गरेका छन्।

बाढीले घरबारविहीन बनाएका परिवारको सुरक्षित बसोबासका लागि सरकारले घोषणा गरेको घरभाडा सहयोग कार्यान्वयनमा आउन थालेसँगै प्रभावित परिवारलाई अस्थायी आवास व्यवस्थापनमा राहत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।