धादिङ, असार १७ ,२०८३
नीलकण्ठ नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीबाट प्रचलित कानुन र मापदण्डभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलद्वारा जारी सूचनामा नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूले कक्षा ८, १० र १२ का विद्यार्थीबाट चारित्रिक प्रमाणपत्र (Character Certificate), लब्धाङ्कपत्र (Mark Sheet) तथा प्रोभिजनल प्रमाणपत्र (Provisional Certificate) उपलब्ध गराउँदा रकम लिने तथा संस्थागत विद्यालयहरूले विभिन्न शीर्षकमा तोकिएको मापदण्डभन्दा बढी शुल्क असुल गर्ने गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ।
सूचनामा शिक्षा सम्बन्धी प्रचलित कानुन, नियम तथा मापदण्डबमोजिम मात्र शुल्क लिनुपर्ने स्पष्ट पारिएको छ। कुनै पनि विद्यार्थीबाट अनधिकृत वा अतिरिक्त शुल्क नलिन नगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ।
नगरपालिकाले समय–समयमा अनुगमन गर्ने जनाएको छ। अनुगमनका क्रममा निर्देशिकाविपरीत अतिरिक्त शुल्क असुलेको पाइएमा प्रचलित कानुन तथा नियमबमोजिम आवश्यक कारबाही गरिने चेतावनी पनि सूचनामार्फत दिइएको छ।
नगरपालिकाले विद्यार्थी तथा अभिभावकको हितलाई ध्यानमा राख्दै विद्यालयहरूले निर्धारित मापदण्डअनुसार मात्र शुल्क लिई पारदर्शी र उत्तरदायी ढंगले सेवा प्रवाह गर्न आग्रह गरेको छ।






