धादिङ, असार २९ ,२०८३

लगातारको भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्रका मुख्य सडकमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन तत्कालका लागि बन्द गरेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) द्वारा सोमबार राति ९ बजे जारी गरिएको अत्यावश्यक सूचनामा पृथ्वी राजमार्ग तथा अन्य सडकमार्गमा थप पहिरो खस्ने जोखिम उच्च रहेकाले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको उल्लेख छ।

प्रशासनले यात्रामा रहेका सवारी साधनलाई नजिकका सुरक्षित होल्डिङ सेन्टर मा रोक्ने व्यवस्था गरिएको जनाएको छ। होल्डिङ सेन्टरका रूपमा सिस्नेखोला, खानीखोला बजार, महादेवबेसी बजार, सिम्ले, गजुरी बैरेनी, आदमघाट, गजुरी बजार, मलेखु बजार, विशालटार र मझिमटार तोकिएका छन्।

साथै, देशभर मौसम सक्रिय रहेको र जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान जारी गरेको उल्लेख गर्दै प्रशासनले त्रिशूली नदीको बहाव कुनै पनि बेला बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपास बसोबास गर्ने नागरिक र निर्माणाधीन तथा सञ्चालित आयोजनाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कुनै पनि विपद्जन्य घटना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC), स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायमा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ। साथै, नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बलको ११४४ लगायतका आपत्कालीन सम्पर्क नम्बर प्रयोग गर्न पनि आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0