धादिङ, साउन १४ २०८३
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिका–७ निवासी ४८ वर्षीय विशाल भन्ने रुद्रबहादुर गिरीलाई मंगलबार नीलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार असार ३२ गते सिद्धलेक गाउँपालिका–५ बुङचुकस्थित सार्वजनिक स्थानमा गिट्टी तथा बालुवा धुने वासिङ मेसिन सञ्चालनको विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा गिरीले गाउँपालिका अध्यक्ष खतिवडामाथि मुक्का प्रहार गर्दा उहाँको गाला र टाउकोमा चोट लागेको थियो। घटनापछि गिरी फरार भएका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङले गिरीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा फरार रहेका गिरीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार पक्राउ परेका गिरीलाई जिल्ला प्रशासन कार्यालय धादिङबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






