काठमाडौं ,१७ साउन ,२०८३

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ भने ९० जना घाइते भएका छन्।

नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ललितपुर, काठमाडौं, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, कैलाली, रुपन्देही लगायत जिल्लामा भएका दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो।

दुर्घटनामा घाइते भएका ९० जनामध्ये अधिकांशको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा पुर्‍याएका थिए।

प्रहरीका अनुसार प्रदेशगत रूपमा कोशी प्रदेशमा ९ जना, मधेश प्रदेशमा १३ जना, काठमाडौं उपत्यकामा १० जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा २ जना तथा सुदूरपश्चिम प्रदेशमा १७ जना घाइते भएका छन्।

नेपाल प्रहरीले वर्षायाममा सडक चिप्लो हुने, दृश्यता कम हुने तथा लापरवाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीले सुरक्षित यात्राका लागि सवारीको प्राविधिक अवस्था जाँच गर्ने, मौसमको अवस्थाअनुसार गति नियन्त्रणमा राख्ने तथा ट्राफिक नियमको पालना गर्न सबै चालक र यात्रुलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0