बद्री पौडेल ,२०८३ कार्तिक १७ गते
धादिङ ,नेत्रावती डवजोङ गाउँ पालिका ,साबिक कटुन्जे गाबिस
नेपालको एकीकरणको इतिहास केवल युद्ध, विजय र वीरताका कथामा मात्र सीमित छैन। त्यसबेला प्रयोग गरिएका सैनिक पदमार्ग, गढी, किल्ला, विश्रामस्थल र दूरी जनाउने कोसेढुङ्गाहरू पनि राष्ट्रिय इतिहासका महत्वपूर्ण साक्षी हुन्। यस्तै ऐतिहासिक महत्व बोकेका दुई कोसेढुङ्गा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ स्थित भोग्टेनी र भर्याङभुरुङमा आज पनि रहेका छन्।
नेपाल एकीकरणको अभियानका क्रममा गोर्खा दरबारबाट आरुघाट हुँदै चरङ्गे, पौवा, कटुञ्जे, भोग्टेनी, भर्याङभुरुङ, सामरी र त्रिशूली हुँदै नुवाकोट दरबार पुग्ने ऐतिहासिक पदमार्ग प्रयोग हुने गरेको थियो। नुवाकोटबाट ककनी हुँदै काठमाडौं प्रवेश गर्ने यो मार्ग तत्कालीन सैनिक आवागमन र एकीकरण अभियानको महत्वपूर्ण बाटोका रूपमा रहेको थियो। विभिन्न सामरिक महत्वका स्थान, गढी र किल्लाहरू हुँदै अघि बढ्ने यस मार्गले नेपालको एकीकरणकालीन इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्छ।
यसै ऐतिहासिक पदमार्गअन्तर्गत नेत्रावती डबजोङ गाउँपालिका–४ को भोग्टेनीमा पन्ध्र कोस र सोही वडाको भर्याङभुरुङमा चौध कोस लेखिएका ऐतिहासिक कोसेढुङ्गा रहेका छन्। यी दुई ढुङ्गाले तत्कालीन समयमा पैदल यात्राको दूरी मापन गर्न प्रयोग गरिने कोस प्रणालीको ऐतिहासिक महत्वलाई उजागर गर्छन्।
पुरानो मान्यताअनुसार एक कोस बराबर करिब तीन किलोमिटर मानिन्थ्यो। गोर्खादेखि काठमाडौंको हनुमानढोकासम्म करिब ३६ कोस दूरी रहेको भन्ने भनाइ पनि पाइन्छ। काठमाडौंको हनुमानढोकाबाट भर्याङभुरुङसम्म चौध कोस र त्यहाँबाट करिब एक कोसको दूरीमा रहेको भोग्टेनीलाई पन्ध्र कोसका रूपमा चिनिनु यसै परम्परागत दूरी गणना प्रणालीसँग जोडिएको छ।
त्यतिबेला पैदल यात्रा गर्दा मानिसले कति दूरी पार गर्यो भन्ने हिसाब कोसका आधारमा राखिन्थ्यो। सैनिक, यात्रु तथा सरकारी कर्मचारीको आवागमनमा समेत यसको प्रयोग हुन्थ्यो। कतिपय ठाउँमा भिजेको रुमाल लिएर यात्रामा निस्कने र जहाँ पुग्दा रुमाल सुक्छ, त्यसलाई एक कोसको अनुमानित दूरी मान्ने चलनसमेत थियो। यसलाई ‘रुमाले कोस’ भन्ने गरिन्थ्यो। यसरी कोसको गणना तत्कालीन समयको यात्रा, प्रशासन र आवागमन व्यवस्थाको अभिन्न हिस्सा बनेको थियो।
कोसको प्रचलन ऐतिहासिक सैनिक मार्गमा मात्र सीमित थिएन। नेपालका विभिन्न जिल्लामा सदरमुकामबाट गाउँ विकास समितिका केन्द्रसम्मको दूरी निर्धारण गर्दा पनि कोसकै हिसाब प्रयोग गरिन्थ्यो। धादिङ जिल्लाकै उदाहरण लिने हो भने सदरमुकाम धादिङबेसीबाट आसपासका गाविसका केन्द्रसम्मको दूरी चार कोस मान्ने चलन थियो। त्यसभन्दा टाढाका गाविसहरूको दूरी पनि कोसकै आधारमा गणना गरिन्थ्यो। धादिङबेसीबाट लापा र तिप्लिङ २० कोस, खनियाबासको दार्खा ११ कोस, बसेरी १७ कोस र फूलखर्क १२ कोसका रूपमा चिनिन्थे।
त्यसबेला सरकारी कर्मचारीले पाउने दैनिक भ्रमण भत्ताको व्यवस्था पनि कोसको दूरीसँग जोडिएको थियो। सदरमुकामबाट चार कोसभन्दा बाहिरका क्षेत्रमा कामकाजका लागि जाने कर्मचारीले तोकिएको मापदण्डअनुसार दैनिक भ्रमण भत्ता पाउने व्यवस्था थियो। अहिले भने परम्परागत कोस प्रणालीको स्थान किलोमिटरले लिएको छ। हाल प्रचलित व्यवस्थामा तोकिएको मापदण्डअनुसार २० किलोमिटरभन्दा टाढाबाट कामकाजका लागि आउने कर्मचारीले दैनिक भ्रमण भत्ता पाउने व्यवस्था छ।
नेपाली सेनाद्वारा ऐतिहासिक कोसेढुङ्गाको जीर्णोद्धार
समयक्रममा जीर्ण बन्दै गएका यी ऐतिहासिक कोसेढुङ्गाको संरक्षणका लागि नेपाली सेनाले चासो देखाएको छ। श्री देवीदत्त गण र श्री शिवदल गणले २०७८ जेठ १० गते नेत्रावती डबजोङ गाउँपालिका–४ स्थित भोग्टेनीको पन्ध्र कोस र भर्याङभुरुङको चौध कोसका ऐतिहासिक कोसेढुङ्गाको जीर्णोद्धार गरेका हुन्। नेपाली सेनाको पहलमा जीर्णोद्धार गरिएका यी स्तम्भले तत्कालीन ऐतिहासिक पदमार्ग र कोस प्रणालीको पहिचानलाई थप जीवन्त बनाएका छन्।
यी कोसेढुङ्गाको महत्व विगतको इतिहासमा मात्र सीमित छैन। नेपाली सेनाले नेपाल एकीकरणको ऐतिहासिक पदमार्गलाई स्मरण गर्दै हरेक वर्ष गोर्खाबाट पैदल यात्रा सुरु गरी सोही ऐतिहासिक मार्ग हुँदै नुवाकोट पुग्ने र नुवाकोटबाट काठमाडौंसम्मको यात्रा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ। यस प्रकारको पैदल यात्राले एकीकरणकालीन सैनिकहरूको कठिन यात्रा, साहस, अनुशासन र राष्ट्र निर्माणप्रतिको समर्पणलाई नयाँ पुस्तासम्म पुर्याउने काम गरेको छ।
भोग्टेनीको पन्ध्र कोस धेरैले सुनेको र परिचित ऐतिहासिक स्थान भए पनि भर्याङभुरुङको चौध कोस भने तुलनात्मक रूपमा कम प्रचारमा रहेको छ। एउटै गाउँपालिका र एउटै वडाभित्र रहेका यी दुई कोसेढुङ्गा नेपाल एकीकरणकालीन पदमार्गका महत्वपूर्ण ऐतिहासिक पहिचान हुन्।
इतिहासलाई पुस्तकका पानामा मात्र सीमित राखेर संरक्षण गर्न सकिँदैन। त्यसका वास्तविक साक्षीका रूपमा रहेका पदमार्ग, कोसेढुङ्गा, गढी र किल्लाको संरक्षण तथा प्रचारप्रसार पनि उत्तिकै आवश्यक छ। भोग्टेनीको पन्ध्र कोस र भर्याङभुरुङको चौध कोसलाई ऐतिहासिक सम्पदाका रूपमा अभिलेखीकरण, संरक्षण र प्रचार गर्न सके नेत्रावती डबजोङ गाउँपालिकालाई नेपाल एकीकरणको ऐतिहासिक पदमार्गसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिन्छ।
यी दुई कोसेढुङ्गा केवल चौध र पन्ध्र कोसको दूरी जनाउने ढुङ्गा मात्र होइनन्, नेपालको एकीकरणकालीन यात्रा, सैनिक इतिहास र पुरानो नेपाली समाजको दूरी मापन प्रणालीका जीवित दस्तावेज हुन्। तिनको संरक्षण गर्नु भनेको स्थानीय सम्पदाको संरक्षण मात्र नभई राष्ट्रको इतिहास र पुर्खाको गौरवपूर्ण यात्रालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु पनि हो।

तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।