ईश्वर थापा मगर
धादिङ, – आफ्नै भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका नीलकण्ठ नगरपालिका–९ निगालपानीका ८८ वर्षीय जगन्नाथ लम्सालको उपचारको क्रममा निधन भएको छ।
बैशाख २५ गते चिप्लेटीस्थित आफ्नै घरमा बसिरहेका वृद्ध लम्सालमाथि उनका भतिजा ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेका थिए। अनुहार र टाउकोमा गम्भीर चोट लागेका लम्साललाई तत्काल धादिङ अस्पतालमा प्राथमिक उपचार दिइए पश्चात् सोही दिन हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो। तर उपचारकै क्रममा बिहीबार उहाँको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने बाबुकाजी लम्साल पहिले पनि आफ्नै श्रीमतीको हत्या अभियोगमा सात वर्ष जेल सजाय भोगिसकेका थिए। उनका अनुसार वृद्ध जगन्नाथले बाबुकाजीकी दिवंगत श्रीमतीको काजक्रिया गरेका थिए, जसका कारण रिसइबी बढेर बाबुकाजीले यस्तो हिंसात्मक कदम चालेका हुन्।
बिहिबार बिहान वृद्ध घरमै बसिरहेको अवस्थामा बाबुकाजीले एक्कासी धारिलो हतियार प्रयोग गरी अनुहारमा आक्रमण गरेका थिए। हिँडडुल गर्न नसक्ने वृद्धमाथि गरिएको यस आक्रमण निकै क्रुर रहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारपछि बाबुकाजीलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिई हिरासतमा राखेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।






