ईश्वर थापा मगर
धादिङ, रुबीभ्याली — धादिङको दुर्गम क्षेत्र रुबीभ्याली गाउँपालिकामा दुई दिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं. ३ मा रहेको श्री च्याम्रादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार सुरु भएको सम्मेलन शनिबार ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको हो।

‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत सरकार, सार्वजनिक शिक्षा र सबलीकरण सहितको शैक्षिक पूर्वाधार, रुबीभ्याली गाउँपालिकाको आधार’ भन्ने मूल नारासहित सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि समूहगत छलफल गरिएको थियो। छलफलबाट संकलित सुझाव, धारणा र निष्कर्षलाई समेटेर अन्ततः ५८ बुँदे घोषणापत्र सार्वजनिक गरिएको आयोजकले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष रामसिं तामाङले सम्मेलनको समापन सत्रमा बोल्दै शिक्षा सुधारको लागि सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको बताए। “हामीसँग चुनौती धेरै छन्, तर साझा प्रयासबाट अघि बढ्न सक्छौं,” उनले भने।

गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले रुबीभ्याली जस्तो भौगोलिक हिसाबले पछडिएको क्षेत्रलाई चौतर्फी आक्रमणबीच पनि समग्र विकासको दिशामा अघि बढाउन आफुहरू प्रतिबद्ध रहेको बताए।
सम्मेलनमा प्रमुख अतिथि नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा. नविनबन्धु पहाडीले शिक्षक नै शैक्षिक सुधारको पहिलो जिम्मेवार भएकाले उनीहरूको क्षमता र इमानदारीमा जोड दिनुपर्ने धारणा राखे। “सूचना प्रविधिको दक्षता समयको आवश्यकता हो,” उनले उल्लेख गरे।
शिक्षाविद् आर. के. ढुङ्गानाले विद्यालयको ‘युनिक सेलिङ पोइन्ट’ (USP) पहिचान गरी त्यसअनुसार योजना बनाइनुपर्नेमा जोड दिए। “नीति निर्माण मात्र होइन, प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना अनिवार्य छ,” उनले भने।
सम्मेलनमा गाउँपालिकाभरिका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्रोतव्यक्तिहरूले शैक्षिक तथा भौतिक अवस्थाको प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए।
सार्वजनिक गरिएको ५८ बुँदे प्रतिबद्धता पत्रमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल र गाउँपालिकाको भूमिकालाई स्पष्ट पार्दै शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाइएको छ।






