धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-८ किरान्चोक बस्ने २४ वर्षीय विवेक तामाङ रहेका छन्। शनिबार राति प्रहरीले काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ३८४८ नम्बरको यात्रुवाहक बसमा सवार तामाङलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले नियमित जाँचका क्रममा तामाङको झोलाबाट करिब १० किलो गाँजा बरामद गरेको हो। बरामद गाँजा र पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।






