हेटौँडा । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पद साता दिनमै संकटमा परेको छ। पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका १४ जना सांसदले पार्टीको ह्विप नमान्ने चेतावनी दिएका कारण आज (मंगलबार) हुन लागेको विश्वासको मतमा बानियाँलाई कठिनाइ हुने देखिएको हो।

संविधानअनुसार नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार मुख्यमन्त्री एवं कांग्रेस बागमती संसदीय दलका नेता बानियाँ आज दिउँसो ४ बजे प्रदेशसभा बैठकमार्फत मत लिन लागेका हुन्। यसअघि शनिबार ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले सबै सांसदलाई बानियाँको पक्षमा मत दिन ह्विप जारी गरेको थियो।

तर, लामा पक्षका सांसदहरूले आफूहरूले सिफारिस गरेका ३ जनालाई मन्त्रीमा नियुक्त नगरेको, संवाद नगरेको र सहमति कार्यान्वयन नगरेकाले मत नदिने अडान लिएका छन्। लामा मुख्यमन्त्री पद छोड्नु अघि ती ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए, तर विवादका कारण शपथ हुन सकेको थिएन। शेरबहादुर देउवाको निवासमा भएको छलफलमा ती व्यक्तिहरूलाई नयाँ सरकारले पनि मन्त्री बनाउने सहमति भए पनि बानियाँले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि बढेको हो।

यसैबीच, एमाले बागमतीका प्रमुख सचेतक एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई विश्वासको मत दिन अनुरोध गरिएको छ। तर लामा पक्षको असन्तुष्टिले बानियाँको मुख्यमन्त्री पद अल्पकालमै टुंगिने अड्कल राजनीतिमा फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0