धादिङ — उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाकाे दुर्गम बस्तीमा बृहत निःशुल्क आँखा शिविर सञ्चालन भएकाे छ। बुधबार विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरमार्फत हालसम्म ९ सय ५४ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका छन्।

गङ्गाजमुना गाउँपालिकाको रि स्वास्थ्य चौकीमा २५० जना, बसेरी स्वास्थ्य चौकीमा २८२ जना, र फुलखर्क ग्रामीण अस्पतालमा ४२२ जनाले सेवा लिएका गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए।

उनका अनुसार रि स्वास्थ्य चौकीका २८ जना, बसेरीका २१ जना र फूलखर्कका २२ जनामा मोतियाबिन्दु रोग पाइएको छ, जसको निःशुल्क अपरेसन असोज २३ र २४ गते फुलखर्क ग्रामीण अस्पतालमा गरिनेछ।

गुम्दी, बुढाथुम र फुलखर्कका केही स्थानमा अझै शिविर सञ्चालन हुन बाँकी रहेकोले मोतियाबिन्दुका बिरामीको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

यो शिविर आई क्याम्प फोर चितवन, सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र, भरतपुर आँखा अस्पताल, गङ्गाजमुना गाउँपालिका, रोटरी क्लब, फुलखर्क कल्याणकारी समाज , तथा अन्य संघसंस्थाहरूको संयुक्त आयोजनामा असोज २३ र २४ गतेसम्म सञ्चालन हुँदैछ।

दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन र आँखाको अवस्थाबारे जनचेतना फैलाउन यो शिविर आयोजना गरिएको आयाेजकले जनाएकाे छ।

“‘बिना दृष्टि अधुरो सृष्टि’ भन्ने मूल मर्मका साथ हामीले संस्था स्थापना गरेका हौं। गाउँघरका नागरिकमा आँखाको समस्या भए पनि चेकजाँच गर्ने बानी नहुँदा समस्या जटिल बनेको पाइन्छ। यसलाई परिवर्तन गर्न र जटिल केसहरूको उपचार गर्न हामी गाउँमै सेवा पुर्‍याइरहेका छौं।”

शिविरमा सेवा लिएका ७१ जनामा मोतियाबिन्दु देखिएको र ती सबैको निःशुल्क शल्यक्रिया यही असोज २३ र २४ गते गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0