काठमाडौँ । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी २५ वर्षीया जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा फैलाइएका झुटा र विभेदपूर्ण आरोपहरूको तीव्र निन्दा गरेको छ।
हालै ल्हान्जोमलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित व्यक्ति’ भन्दै मन्त्री पदका लागि असयोग्य ठहर्याउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए। यी प्रकारका टिप्पणीहरूले नेपालको राष्ट्रिय एकता र विविधता विरुद्धको मानसिकता झल्काउने कलेक्टिभको भनाइ छ।
कलेक्टिभले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आदिवासी समुदायहरू भाषा, संस्कृति र अनुहारका आधारमा शताब्दीयौँदेखि बहिष्करण र विभेदको सामना गर्दै आएका छन्। संविधानले समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा त्यस्तो सुनिश्चितता अझै हासिल हुन सकेको छैन।”
विज्ञप्तिमा अझ भनिएको छ कि आदिवासी महिला तथा नागरिकहरूलाई समाज र राज्य संरचनाभित्र “अदृश्य बनाउने र दोहोरो अन्यायमा पार्ने प्रवृत्ति” आज पनि विद्यमान छ।यस घटनाप्रति विरोध जनाउँदै कलेक्टिभले सबै नागरिक र सरोकारवालाहरूलाई विविधतामा आधारित समानताको मूल्यलाई सम्मान गर्न आग्रह गरेको छ।
उक्त विज्ञप्तिमा आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्स दुबैको संयुक्त हस्ताक्षर गरिएको छ।








