धादिङ बेँसी । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको भाइटिका लगाउने उत्तम साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। तिहारको पाँचौँ र अन्तिम दिन अर्थात् भाइटिकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै टीका र माला लगाइदिने परम्परा रहिआएको छ।
हिन्दु धर्मअनुसार भाइटिका दिदीबहिनी र दाजुभाइबिचको स्नेह, माया र पारिवारिक सम्बन्धको प्रतीक मानिन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइको निधारमा विभिन्न रङका टीका लगाइ, मखमली फूलको माला लगाउने र मिठा–मिठा परिकारहरू खुवाउने चलन छ। दाजुभाइहरूले पनि बहिनीलाई कपडा, नगद वा उपहार प्रदान गरी दीर्घ स्नेह प्रकट गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटिका साइत बिहान ११ बजेर ३९ मिनेटमा उत्तम मानिएको भए पनि परिवारको सुविधाअनुसार सो समय वरिपरि पनि टीका लगाउन सकिने बताइएको छ।
तिहारलाई प्रकाश पर्वका रूपमा मनाइन्छ, जसमा काग, कुकुर, गाई, गोरु र भाइटिका गरी पाँच दिनका विभिन्न रूपले पूजा आराधना गरिन्छ। भाइटिकाको दिनले तिहार पर्वको समापन गर्दै दिदीबहिनी र दाजुभाइबिचको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।






