धादिङ, २२मंसिर २०८२
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता प्रक्रिया सम्पन्न भएको छ। नेपालकाे संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ का प्रावधानअनुसार निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ताका लागि अवधि तोकेको थियो। सोही अनुसार मंसिर ९ गते सूचना प्रकाशित गरिएको र आवश्यकताअनुसार दर्ता अवधि थप गरी मंसिर १४ गतेसम्म कायम राखिएको थियो।

तोेकिएको समयभित्र निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले दफा ४ र दफा ४९ बमोजिम दर्ता गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए। आयोगले प्राप्त निवेदनहरूको प्रक्रिया पूरा गरी राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ अनुसार दर्ता कार्य सम्पन्न गरेको छ।

अनुसूची–१२ अनुसार आयोगले १०२ राजनीतिक दललाई दर्ता गरेको छ भने अनुसूची–१३ बमोजिम एकल चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन १२ दलले निवेदन दिएका छन्। दुवै प्रकारका दल गरी आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि कुल ११४ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ।

आयोगका अनुसार दर्ता भएका राजनीतिक दलहरूले तोकिए अनुसार निर्वाचन आचारसंहिता र अन्य कानुनी प्रावधानको पालना गर्दै निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0