बाबुराम फ्यूबा
डिसेम्बर २७, २०२५ काठमाडौं
तामाड॰ भाषालाई गुगल अनुवाद प्रणालीमा समावेश गर्ने उद्देश्यसहित विकास गरिएको बेटा भर्सन (प्रारम्भिक चरण) सार्वजनिक गर्ने कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ। उक्त कार्यक्रम काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्रोफेसर मनिष पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भाषा विभागका प्रमुख श्री बलराम प्रशाईंले नेपालका भाषाहरूको संरक्षण, प्रवर्द्धन तथा डिजिटल विकासमा समुदाय स्वयं सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विश्वविद्यालयको तर्फबाट आवश्यक प्राविधिक तथा शैक्षिक सहयोग उपलब्ध गराउन तत्पर रहेको पनि स्पष्ट पार्नुभयो।
तामाड॰ भाषालाई गुगल अनुवाद प्रणालीमा ल्याउने प्राविधिक कार्य सूचना तथा प्रविधि विज्ञ प्रोफेसर वालकृष्ण वलको नेतृत्वमा सम्पन्न भएको हो। उहाँले नेपाली–तामाड॰ भाषा अनुवादमा संलग्न सम्पूर्ण विज्ञ, शोधकर्ता तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्दै हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो।
कार्यक्रममा बोल्दै भाषाविद् अमृत योञ्जन तामाङले यस प्रविधिको प्रयोग कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, समाज तथा साधारण सञ्चारका क्षेत्रमा प्रभावकारी रूपमा गर्न सकिने बताउनुभयो। साथै, भविष्यमा कानुन तथा प्रशासनिक विषयवस्तुहरू समेत समेट्दै दायरा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सार्वजनिक गरिएको यो बेटा भर्सन एक महिनासम्म सरोकारवाला निकाय, भाषाविद् तथा प्रयोगकर्ताहरूका सुझाव संकलनका लागि खुला गरिएको जनाइएको छ।
तामाड॰ भाषा अनुवाद प्रणालीको बेटा भर्सन हेर्न र प्रयोग गर्न निम्न लिङ्क उपलब्ध छः
🔗 https://tmt.ilprl.ku.edu.np/






