धादिङबेसी, माघ —२०८२
जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यसहित दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ। माघ १५ गतेदेखि २५ गतेसम्म धादिङबेसीस्थित खुला मञ्चमा सञ्चालन हुने महोत्सवबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा, नीलकण्ठ नगरपालिकाको संरक्षण तथा नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँको प्रवर्द्धनमा महोत्सव आयोजना हुन लागेको हो। आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी दर्शक सहभागिता हुने र करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सवमा १०० वटा व्यावसायिक स्टल, २० वटा घरेलु तथा साना उद्योगका स्टल र ४० वटा कृषि तथा अन्य उत्पादनका स्टल रहनेछन्। यसअघि आयोजित धादिङ महोत्सवहरूले जिल्लामा उत्पादित वस्तुको बजारीकरण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा समग्र व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ।

यसपटकको महोत्सवमा धादिङको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य भैरवी मन्दिरलाई पर्यटकीय हबको रूपमा विकास गर्ने उद्देश्य समेत राखिएको छ। सोही उद्देश्यअनुसार महोत्सव स्थलको मुख्य गेटदेखि ‘मायाको चिनो’ सम्म भैरवी मन्दिरका आकर्षक फोटो तथा दृश्य सामग्री राखिने व्यवस्था गरिएको धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो। यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई भैरवी मन्दिरतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

महोत्सव अवधिभर विषयविज्ञ र सरोकारवालाबीच प्रत्यक्ष अन्तरसंवाद, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम, रमाइलो मेला तथा बाल उद्यान सञ्चालन गरिनेछ। साथै राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूबाट दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0