धादिङ, २१ माघ २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, भयरहित, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धादिङले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्ने निर्णय गरेको छ।
जिल्ला निर्वाचन सुरक्षा समिति धादिङको बैठकले निर्वाचन अवधिभर हुन सक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विभिन्न निर्णयहरू गरेको जिल्ला प्रशासन कार्यालयले प्रेस नोटमार्फत जानकारी दिएको छ।
प्रेस नोटअनुसार निर्वाचन कार्यक्रम तथा परिणाम घोषणा नहुन्जेलसम्म सुरक्षा व्यवस्थालाई सुदृढ बनाइ Operational Calendar तयार गरी कार्यान्वयन गरिनेछ। निर्वाचनलाई प्रभावित पार्न सक्ने राजनीतिक दलको आवरणमा हुने वा नहुने कुनै पनि गतिविधिमाथि सूक्ष्म निगरानी राखी त्यस्ता गतिविधि नियन्त्रण गरिने प्रशासनले जनाएको छ।
निर्वाचन अवधिमा हुन सक्ने बन्द, हड्ताल, चक्काजाम, घेराउजस्ता गतिविधि हुन नदिन रणनीतिक सुरक्षा व्यवस्था मिलाइने र त्यस्ता कार्यक्रम नगर्न÷नगराउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। सामाजिक सञ्जालमार्फत हुने निर्वाचन विरोधी गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने पनि प्रशासनले स्पष्ट पारेको छ।
यसैगरी निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा तथा भेलाजस्ता कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनको पूर्वअनुमति अनिवार्य गरिएको छ। राजमार्ग तथा अन्य क्षेत्रमा हुन सक्ने अवरोध तत्काल हटाइने र सुरक्षा निकायको नियमित गस्ती तथा पिकेट परिचालन गरिनेछ।
अवैध तथा जबर्जस्ती रूपमा चन्दा संकलन, धम्की वा आपराधिक गतिविधिमा संलग्न व्यक्ति, संस्था वा समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। साथै, अत्यावश्यक वस्तुको सहज आपूर्ति, भण्डारण, बिक्री वितरण र बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने प्रशासनको भनाइ छ।
अनुमति नलिई ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्दै निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी तथा आम मतदातासँग सहकार्य र समन्वयको अपेक्षा गरेको छ।
प्रेस नोट सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मोहन प्रसाद न्यौपानेद्वारा जारी गरिएको हो।






