धादिङ बेसी , २४ माघ २०८२
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD), सानोठिमी भक्तपुरद्वारा शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको सभाहलमा आयोजना गरिएको STEM/STEAM शिक्षा कार्यान्वयन सम्बन्धी दुईदिने सहजीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
STEM शिक्षा भनेको Science, Technology, Engineering, Mathematics (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) लाई एक–आपसमा जोडेर व्यवहारिक तरिकाले पढाइने शिक्षा प्रणाली हो।
माघ २३ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रममा १० जना विज्ञान शिक्षक, १० जना गणित शिक्षक तथा ५ जना प्रधानाध्यापक गरी कुल २५ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पदम माध्यमिक विद्यालय, भक्तपुरका विज्ञान शिक्षक ईश्वर कुमार घिमिरेले गर्नुभएको थियो।
कार्यक्रमको समापन सत्रमा CEHRD का उपमहानिर्देशक आदरणीय महेन्द्र पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै CEHRD शैक्षिक प्रविधि शाखाका निर्देशक निमप्रकाश सिंह राठौर, शाखा अधिकृत गीता शर्मा, तथा प्राविधिक सहायक बिन्दुश्वरी जोशीको पनि उपस्थिति रहेको थियो।
समापन सत्रमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ, धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदीले धादिङ जिल्लाका शिक्षकहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएकोमा CEHRD प्रति आभार व्यक्त गर्नुभयो।
प्रमुख अतिथि उपमहानिर्देशक पराजुलीले कृत्रिम बुद्धिमत्ता (AI), नेपाली समाजको बदलिँदो आवश्यकता तथा विद्यालय सञ्चालनका चुनौतीहरूलाई मध्यनजर गर्दै शिक्षकहरूले STEAM शिक्षा पद्धतिलाई कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले STEAM शिक्षा आजको समयमा विद्यार्थीलाई सिर्जनशील, समस्या समाधानमुखी र सीपयुक्त बनाउन महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमले सहभागी शिक्षकहरूलाई STEAM शिक्षाको अवधारणा, प्रयोगात्मक शिक्षण विधि तथा कक्षाकोठामा यसको कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको सहभागी शिक्षक चित्र गुरुङले बत्ताउनु भयो ।






