धादिङ, २०८२ माघ २८

जिल्ला निर्वाचन कार्यालय धादिङले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। निर्वाचन आयोग, नेपालद्वारा स्वीकृत निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका–२०७६ बमोजिम कार्यक्रम कार्यान्वयनको चरणमा रहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा प्रभावकारी बनाउन आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

कार्यक्रमअन्तर्गत जिल्लाका १३ स्थानीय तहका १०४ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक (Voter Education Volunteer) परिचालन गरिनेछ। स्वयंसेवकहरूले सम्बन्धित वडा तथा बस्ती स्तरमा पुगेर आम मतदातालाई निर्वाचनको महत्व, मतदान गर्ने तरिका, मत बदर हुन नदिने उपायलगायत विषयमा जानकारी गराउनेछन्।

यसका लागि प्रत्येक स्थानीय तहमा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकिएको छ। उनीहरूलाई मतदाता शिक्षा कार्यक्रमको अनुगमन तथा समन्वयको जिम्मेवारी दिइएको छ। जिल्ला निर्वाचन कार्यालय धादिङमा मिति २०८२ माघ २८ गते एक दिवसीय मुख्य प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको र प्रशिक्षित सम्पर्क व्यक्ति तथा अनुगमनकर्ताले अब स्वयंसेवकहरूलाई तालिम दिई वडा तथा बस्तीस्तरमा परिचालन गर्ने जनाइएको छ।

जिल्ला निर्वाचन अधिकारी शिव बहादुर गुरुङले प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता वृद्धि भई बदर मतको संख्या न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सरोकारवाला निकाय, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई सहयोगका लागि अनुरोध समेत गर्नुभएको छ।

निर्वाचनलाई “स्वतन्त्र र निष्पक्ष निर्वाचन: राष्ट्रको गौरव” भन्ने मूल नारासहित सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ कार्यालयले तयारीलाई तीव्रता दिएको जनाएको छ।

साथै कार्यक्रमअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको घरदैलो र बस्तीस्तरमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व, मतदान गर्ने तरिका, मत संकेत गर्ने विधि तथा मत बदर हुन नदिने उपायबारे जानकारी गराउनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0