धादिङ, सन्दिप स्यामचेन। एसडिए चर्च नेपाल केन्द्रको आयोजनामा मकवानपुरको हेटौंडा ड्राइभर डाँडामा ख्रीष्टियन धर्मावलम्बीहरूको परम्परा अनुसार ३ दिने उपबास तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागीहरूले दिनरात भोकै बसी प्रभु येशु ख्रीष्टको नाममा प्रार्थना गर्दै पापबाट मुक्ति, उद्धार तथा आत्मिक शान्तिको कामना गरेका थिए। धार्मिक विश्वास अनुसार उपबास बसी प्रार्थना गर्दा मागेको कुरा प्राप्त हुने आस्थासहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालको सातै प्रदेशबाट पास्टर तथा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा प्रार्थना गर्दै आध्यात्मिक जागरण र आपसी एकता सुदृढ बनाउने लक्ष्य व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले धार्मिक आस्था मजबुत बनाउन तथा समाजमा सकारात्मक सन्देश फैलाउन सहयोग पुग्ने विश्वास लिइएको छ।






