बिजय पौडेल ,  धादिङ बेसी ,  जेठ २० , २०८३

नेपाल पत्रकार महासंघ धादिङ शाखाको २४औँ वार्षिक साधारण सभा तथा संस्थापक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा महासंघका संस्थापक सचिव स्वर्गीय राजेन्द्र प्रताप शाहको शालिक अनावरण गरिएको छ।

कार्यक्रम नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदी, स्वर्गीय राजेन्द्र प्रताप शाहकी धर्मपत्नी ईश्वरी मल्ल शाह, महासंघका संस्थापक सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पत्रकारिता, शिक्षा, सामाजिक तथा राजनीतिक क्षेत्रमा स्वर्गीय राजेन्द्र प्रताप शाहले पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए। शाहले रेडियो नेपाल र कान्तिपुर जस्ता प्रतिष्ठित सञ्चारमाध्यममा कार्य गर्दै पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। साथै उहाँ साविक मैदी गाउँ विकास समितिका उपाध्यक्ष, जिल्ला विकास समितिका सदस्य तथा शिक्षकका रूपमा समेत सक्रिय रहनुभएको चर्चा गरिएको थियो।

महासंघका संस्थापक अध्यक्ष सीताराम प्रसाद वर्माको शालिक यसअघि नै स्थापना गरिएको स्मरण गर्दै आज संस्थापक सचिव राजेन्द्र प्रताप शाहको शालिक अनावरण गरिनु महासंघको इतिहास र योगदानको सम्मान भएको वक्ताहरूले बताएका थिए।

सोही अवसरमा महासंघका अन्य संस्थापक सदस्यहरू डा. नवीन बन्धु पहाडी, बासु तिमल्सेना, उत्तम कँडेल, मोहनकुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास, संस्थागत सुदृढीकरण तथा अग्रज पत्रकारहरूको योगदानको संरक्षण गर्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Screenshot
Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0